३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले नवलपिरासीमा गरेको सभा तनावग्रस्त भएको छ । राजपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने बेलामा अचानक तनाव भएपछि प्रहरीले रबरका गोली र अश्रूग्यास प्रहार गरेको छ ।

सभालाई सम्बोधन गर्न राजपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, हृदयश त्रिपाठी, जितेन्द्र सोनललगायतका नेताहरु पुगेका थिए । परासीको वुद्धचोकमा भएको विरोध सभामा राजपाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।

कार्यक्रम स्थल नजिकै रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको बसबाट लैजानका लागि एमालेको प्रचारसामार्गी राखिएको थियो । टिसर्टहरु राजपाका कार्यकर्ताले खोसेर जलाउने र तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।

झडपमा तीन जना घाइते भएका छन् । प्रहरीले गोली चलाउन थालेपछि नेता महन्थ ठाकुर र राजेन्द्र महतो नजिकैको होटलमा लुक्न पुगेका थिए ।

(हेर्नुस् भिडियाे)