२१ पुष, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदालाई प्रशिक्षण दिने भएको छ ।

आज बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि माघ ७ र ८ गते महोत्तरीमा प्रशिक्षण दिने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन् ।

बैठकले पुष २५ गते महाधिवेशन तयारी समितिको बैठक, २६ गते जिल्लामा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक जनकपुरधाममा र २७ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातासँगको बैठक महोत्तरीको वर्दिवासमा गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए । राष्ट्रियसभा चुनावमा राजपाले सत्तारुढ नेकपासँग चुनावी तालमेल गरेको छ । बैठकमा त्यहि विषयमा मतदातालाई विस्तृतमा जानकारी गराउने राजपाको तयारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको संयोजनका लागि केन्द्रीय स्तरमा राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने २ नम्बर प्रदेशमा प्रदेशसभा संसदीय दलका नेता जितेन्द्र सोनललाई जिम्मेवारी दिने निर्णय राजपाले गरेको छ ।