१४ माघ, धनुषा । २ नम्बर प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाले पदबाट राजीनामा दिएकी छिन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट राज्यमन्त्री बनेकी झाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी हुन् ।‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु’, उनको राजीनामा पत्रमा उल्लेख छ ।

रौतहटबाट प्रदेशसभा सदस्यमा निर्वाचित झा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । उनले प्रदेश सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर राजीनामा दिएकी हुन् । नेकपा र राजपा नजिकिइरहेका बेला समाजवादी र राजपाबीच देखिएको खट्पटले २ नम्बर प्रदेशमा सत्ता समीकरण बद्लिने संभावना बढेको छ ।

राजीनामा दिएकी झाले प्रदेश सरकारले पाप गरिरहेको र पापको भागिदार नबन्न राजीनामा दिएको बताइन् ।