२६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका निम्ति गाडी खरिद गर्नेसम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका छन् । आजको संसद बैठकमा सांसदहरुले प्रश्न उठाएपछि देउवाले जवाफ दिने क्रममा यस्तो जानकारी गराएका हुन् ।

राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका लागि गाडी किन्ने विषय सामान्य मान्नुपर्ने भन्दै उनले अहिलेसम्म १६ करोड माग गरिएको प्रस्ताव नआएको स्पष्ट पारे ।

सांसद प्रेम सुवालले यस विषयमा प्रश्न उठाएपछि देउवाले जवाफ दिएका हुन् । अन्य प्रश्नहरुको जवाफ दिने क्रममा देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताए ।