९ माघ, काठमाडौं । १८ पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर २ मा सत्तारुढ नेकपा र राजपा नेपालबीच चुनावी तालमेल भएको थियो । जसमा चार पदमध्ये दुई÷दुई सिट दुई दलले बाँडेर लिने सहमति गरेका थिए ।

जसअनुसार दुई दलको गठबन्धन सफल भएको छ । चार सिटमा दुवै दलका दुई दुई उम्मेदवार बिजयी भएका छन् । यसो हुँदा समाजवादी पार्टी र नेपाली काँग्रेस पार्टीले भने यसअघिका सिट गुमाएका छन् । महिलातर्फ नेकपाकी तुलसा दाहाल बिजयी भइन् । उनले ५ हजार ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत ल्याइन् ।

२ नम्बर प्रदेशमा काँग्रेस र समाजवादी पार्टीले गठबन्धन गरेका थिए । दलित तर्फको पदमा नेकपाकै राधेश्याम पासवान निर्वाचित भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत ल्याउँदा काँग्रेससँगको गठबन्धनमा उम्मेदवार बनेका समाजवादी पार्टीका रामपृत पासवान ४ हजार ७ सय ४ मतमा सिमित भए । पराजित पासवान यसअघि पनि राष्ट्रियसभामा थिए । अन्य समूहतर्फ नेकपासँगको गठबन्धनमा उम्मेदवार भएका राजपाका मृगेन्द्रसिंह यादव बिजयी भएका छन् । उनले आफ्नै भाई समाजवादी पार्टीका अनिरुद्र सिंहलाई पराजित गरेका हुन् ।

मृगेन्द्रले ५५ हजार ४ सय मतभार ल्याउँदा अनिरुद्रले ४ हजार ५ सय १२ मतभार ल्याए । अल्पसंख्यक समूहमा राजपाका शेखर सिंह बिजयी भएका छन् । उनले ५ हजार ५ सय २ मतभार प्राप्त गर्दा काँग्रेसका भोला पञ्जियारले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् ।