२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिने निर्णय गरेका छन् । मंगलबार एक ट्वीट गर्दै उनले आफूले कप्तानको पद छाड्ने घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको यस्तो निर्णय गरेका हुन् । नयाँ शुरुवातको लागि आफूले कप्तान पद छाड्न लागेको उनको ट्वीटमा उल्लेख छ । उनले आफ्नो ट्वीटमा आईसीसीले गरेको निलम्बन फुकुवाको स्वागत गरेका छन् । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।