२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गर्नु भएको हो ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गर्नु भयो ।

उहाँले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराउनु भयो । अर्बौको बजेट खर्च गरेर सो परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने काँग्रेस सांसद बडुको भनाइ छ ।