७ माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्टमा बेहोस भएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उपचारको क्रममा उनीहरु सबैजनाको मृत्यु भएको ह्याम्स अस्पतालका सिईओ अनिल ओडिलले पुष्टि गरेका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित, छोरा २ वर्षीय वैष्णव, ३९ वर्षीय प्रवीणकृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया सरैया नायर, ५ वर्षीय छोरा अभिनव, ६ वर्षीया छोरी अर्चना र ९ वर्षीया छोरी बन्द्रा रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ खाना खाएर सुतेका आठैजना मंगलबार बिहान बेहोस अवस्थामा थिए । बेहोस भएका उनीहरुलाई उपचारको लागि हेलिकोप्टर मार्फत मण्डिखाटारको ह्याम्स अस्पताल लगिएको थियो ।

मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र चार बालिबालिका रहेका छन् । उनीहरुको घर भारतको केरला रहेको बताइएको छ । दुईजना बस्नुपर्ने कोठामा ८ जना बसेकोले अक्सिजन नपुगेर उनीहरु बेहोस भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्ना ८ जना नागरिकको मृत्यु भएपछि भारतीय दुताबासले घटनाप्रति चासो व्यक्त गरेको छ । भारतीय दुताबासले घटनाको निश्पक्ष छानविन गर्न नेपाल प्रहरीसँग अनुरोध गरेको छ ।