सलमान खाँन
२५ साउन, भैरहवा । रुपन्देहीको खुल्ला सिमा नाकाका कारण लागुऔषधको कारोबार बढ्दै गईरहेको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरी टोलीले सिमा नाका बेलहिया ईलाकामा चेकजाँचको क्रममा लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्नले नयाँ–नयाँ तरिका प्रयोग गरिरहेको बेला प्रहरीले लु.९.प २४८५ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा फ्युल टेंक भित्र भित्र लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरीले २ गा्रम ५ सय ३० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित जिल्ला नवलपरासी नरायणी गाउँ विकास समिती वडा नम्बर १ मा बस्ने २९ वर्षीय रामकुमार श्रेष्ठ र सोही स्थानका वडा नम्बर ७ मा बस्ने २४ बर्षीय मुक्ति प्रसाद महतोलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेको श्रेष्ठ र महतोले भारितय नागरिक नौतनवा निवासी इस्तियाक मुसलमानबाट उक्त लागुऔषध ब्राउन सुगर खरिद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध प्रहरीका अनुसार भारतिय बजार सुनौलीको कैलाशनगर (कालीमाई मन्दिर नजिकै) निवासी हबिब मुसलमान, विष्णु मधेशिया, शुभाष मधेशिया, सुरेन्द« मधेशिया, दिनेश लोध, चाची नामले चिनिने एक महिला, फरेनिया निवासी जलिल मुसलमान तथा नौतनवा बजार निवासी इस्तियाक मुसलमान, कविता यादव र रमा पासी लगायत अन्य व्यक्तिहरुले सुनौली र नौतनवामा भारतीय प्रहरी र सञ्चारकर्मीको संरक्षणमा खुलेआम ब्राउन सुगरको कारोबार गर्ने गरेको दावी रहेको छ ।

यी लागुऔषधका माफियाहरुले उक्त ब्राउन सुगर भारतको उत्तर प्रदेश राजधानी लखनउ नजिकै रहेको बाराबंकीबाट ल्याइ भारतिय बजार सुनौलीमा र नौतनवामा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर तौलको रुपमा पाइने हुनाले बाराबंकी बाट ल्याउने ब्राउन सुगरमा मच्छर धुपको धुलो, (दाँत सफा गर्ने) गुलमंजन आदि इत्यादि जस्ता धुलो मिसावट गरी विक्री वितरण गर्ने गरेको प्रहरीले बताएको छ ।

विभिन्न लागुऔषध सेवनकर्ता पक्राउ परे पनि मुख्य कारोबारी पक्राउ नपर्दा नेपालका युवा युवती लागुऔषधको कुलतमा फस्दै गइरहेको सरोकारवालाहरुले बताएका छन् ।

यसरी यी लागुऔषधका मुफियाहरुले खुलेआम ब्राउन सुगरको कारोबार गरीरहँदा पनि भारतिय प्रहरीले कनै चासो नदेखाएको कारण ब्राउन सुगरको कारोबार बढदै गइरहेको लागुऔषधका प्रहरी हवलदार प्रभु कोहार बताउँछन् ।

कोहारका अनुसार ब्राउन सुगरको भारतीय बजार सुनौली र नौतनवामा खुलेआम कारोबार गर्ने गरे पनि भारतिय प्रहरीले उनीहरुलाई पक्राउ गर्न कुनै सहयोग नगरेको र उनीहरु नेपाल नआउनाले अहिले सम्म पक्राउ नपरेको बताए ।

भारतिय सञ्चारकर्मी र प्रहरी कै मिलोमतोमा यी माफियाहरुले खुलेआम लागुऔषधको कारोबार गर्दै आइरहेको लागुऔषध प्रहरीको दावी रहेको छ । सञ्चारकर्मी र प्रहरीहरुलाई केही रकम दिई सुनौलीमा र नौतनवामा सुरक्षितका साथ खुलेआम कारोबार गर्दै आइरहेको प्रहरीको भनाइ रहेको छ ।

पक्राउ परेका उक्त मोटरसाइकल, लागुऔषध र पक्राउ परेका ब्यक्ति आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाका ईन्चार्ज प्रहरी निरीक्षक राम शंकर कोहारले बताए ।