२८ कात्तिक, काठमाडौं । रौतहटको राजपुर बम बिस्फोटका घाइतेलाई इट्टा भट्टामा जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्व मन्त्री मोहम्मद अफताव आलमललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । घटना गम्भीर रहेको र धरौटी वा तारेखमा छाड्दा महत्वपूर्ण प्रमाण नष्ट हुन सक्ने भन्दै अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अब मुद्दाको अन्तिम किनारा नलागेसम्म आलम थुनामै रहनेछन् ।

आलम पक्षका दुई दर्जन बढी वकिलले बहस गर्न वकालतनामा लिएकाले बहस लम्बिएको हो । झण्डै एकसाता चलेको बहसमा आलमको पक्षमा बहस गर्न गएका पूर्व महान्यायाधीवक्ता एवं बरिष्ठ अधिवक्ताहरुले उनलाई फसाउन खोजिएको भन्दै उनी निर्दोष रहेको दाबी गरेका थिए । आलम असोज २६ गते रौतहटबाटै पक्राउ परेका हुन् ।