१२ चैत, काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थालाई लकडाउनको परिस्थितीमा पनि न्यूनतम बैंकिङ सुविधा प्रदान गर्न निर्देशन दिएको छ ।

राष्ट्रबैंकले आज एक सर्कुलर जारी गर्दै सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतम रुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट बैकिङ कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । बैंक तथा वित्तिय संस्थाहरुद्वार संचालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

प्रत्येक शाखाको मूल ढोकामा उक्त शाखाबाट प्रदान हुने वा उक्त शाखा बन्द रहेको अवस्थामा सो शाखा वा ग्राहकले बैंकिङ सेवा पाउने शाखा सम्बन्धमा सूचना दिन सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बरसहितको विवरण शाखाको मूल ढोका वा सूचना पाटीमा टाँस गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।