१३ चैत, राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य चौकी सारस्वर र अतिरिक्त हुलाक कार्यालयमा बुधवारमध्ये राति लाखौं रुपैयाँ बराबरको सामाग्री चोरी भएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वय गराउन सर्वसाधारणहरु घरभित्रै रहँदै आएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा ताल्चा फुटाएर चोरी गरेको हो ।

वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा एक थान इन्टरनेट चलाउने रोटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिए ।

वडा अध्यक्ष यादवले ‘लकडाउन’को बेला पनि प्रहरीले गस्ती नगर्दा यस्ता घटना भएको भन्दै लकडाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्तीतर्फ ध्यान पु¥याउन आग्रह समेत गरेका छन् ।

यसैगरी स्वास्थ्य चौकीबाट पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन (गर्भवती महिलाको तौल नाप्ने यन्त्र) र ओटो कलेव मेसिन चोरी भएको चौकीका इन्चार्ज बद्रीनारायण ठाकुरले बताए ।

इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्रहरु चोरी भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।