१५ चैत, काठमाडौं । विश्वव्यापी बनेको कोरोना सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज पाँचौँ दिन पर्यटकहरु भने सडकमा टहलिरहेका छन् । काठमाडौंँबासीले घरभित्रै बसेर सरकारले अपनाएको सतर्कतालाई साथ दिइरहे पनि काठमाडौंँको पर्यटकीय क्षेत्र ठमेल र आसपासका स्थानमा भने विदेशी पर्यटक निस्फिक्री हिँडिरहेका छन् ।

‘विदेशबाट कोरोना भित्रिएकाले विदेशी पर्यटकलाई थप कडाइ गर्नुपर्ने हो’, ठमेलका जुजुकाजी महर्जनले भने, ‘तर विदेशी पर्यटक बेलगाम घोडाजस्ता टहलिँदै हिँडेका छन् ।’ पर्यटकहरू हुल बाँधेर बाहिर निस्किँदा असुरक्षित महसुस गरेको गुनासो उनले भने ।

काठमाडौंका चोकचोकमा लकडाउनको निगरानी गर्न नेपाल प्रहरी तैनाथ छ । ठमेलको बाहिरी क्षेत्र पीपलबोट र सोह्रखुट्टेमा प्रहरीको उपस्थिति रहे पनि त्यसका भित्री भागमा शून्य छ । यही मौकाको फाइदा उठाउँदै पर्यटक डुलिरहेका छन् ।

महानगरीय प्रहरीवृत्त, लैनचौरका प्रहरी निरीक्षक भानु खड्का ठमेल क्षेत्रका पर्यटक निरगानीमै रहेको जिकिर गर्नुहुन्छ । उनले भने, ‘आवतजावत गर्नैपर्ने पर्यटकलाई सवारी साधनको व्यवस्था गरेर सम्बन्धित स्थानमा पु¥यारहेका छौँ । विनाकामका पर्यटकलाई हिँड्डुल गर्न दिएका छैनौँ ।’ लकडाउन प्रभावकारी बनाउन वृत्तबाट १०६ प्रहरी परिचालन गरिएको जानकारी उनले दिए ।

विश्वव्यापी रुप लिइरहेको कोरोना भाइरस फैलिन नदिन सरकारले सीमा बन्द र लकडाउन गरे पनि विदेशी पर्यटक घर फर्किन सकेका छैनन् । धेरै पर्यटक अन्नपूर्ण पदमार्गलगायत स्थानमा अलपत्र परेपछि सरकाले बिहीबार र शुक्रबार उद्धार गरेको थियो । आज पनि यो क्रम जारी रहने बताइएको छ ।