३ चैत, काठमाडौं । ललिता निवास जग्गा व्यक्तिको नाममा गरि विक्री गरिएको प्रकरणमा मालपोत कार्यालय डिल्लिबजारका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी र सदस्य न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले थुनछेक बहसमा यस्तो आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १ सय ७५ जनाविरुद्ध गत माघ २२ गते मुद्दा दायर गरेको थियो ।

मुद्दामा पौडेलविरुद्ध ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ३२ करोड १९ लाख २० हजार रुपैयाँ विगो माग दाबी गरिएको छ । अख्तियारले पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात समेतलाई मुद्दा चलाएको छ । पौडेल आज बयान दिन अदालतमा उपस्थित भएका थिए ।