२१ कात्तिक, काठमाडौं । चलचित्र निर्माता गोविन्द शाही पक्राउ परेका छन् । चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा निर्माता शाही पक्राउ परेका हुन् । शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

चलचित्र ‘लिलिबिलि’ निर्माणको क्रममा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए । यसअघि पनि पक्राउ परेका उनी बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका थिए ।

गोविन्द्र शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् । शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए । २ करोड ५० लाखको लगानीमा बनेको चलचित्रले खासै गलितो ब्यापार गर्न नसकेपछि निर्माताहरुबीच विवाद बढेको थियो ।