५ भदौ, काठमाडौं । चलचित्र वितरक तथा निर्माता गोविन्द शाही पक्राउ परेका छन् । चलचित्र ‘लिलिबिली’बाट उठेको पैसा हिनामिना गरेको उजुरी परेपछि उनी बुधबार पक्राउ परेका हुन् । उनलाई प्रहरीले कमलपोखरीबाट पक्राउ गरेको हो ।

शाहीको लगानी रहेको ‘लिलिबिली’ गत वर्ष रिलिज भएको थियो । चलचित्रका अन्य दुई निर्माता मिलन चाम्स र सुदीप खड्काले फिल्मबाट उठेको ८७ लाख ७४ हजार सात सय ६५ रुपैयाँ हिनामिना गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।

यही उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको अभियोग छ । शाहीले पछिल्लो समय फिल्म ‘लभ स्टेसन’ निर्माण गरेका थिए ।