१८ कात्तिक, काठमाडौं । निश्चल बस्नेत चलचित्र ‘लुट’ निर्देशनपछि एकाएक चर्चामा आएको निर्देशक हुन् । चलचित्र ‘लुट’ निर्देशन गरेका निश्चललाई नेपाली चलचित्र क्षेत्रमा स्थापित गराउन त्यहि एउटा चलचित्र काफी भयो । उनको चलचित्रलाई नेपाली चलचित्रको कोशेढुङ्गाको रुपमा पनि हेर्ने गरिन्छ । नेपाली चलचित्र क्षेत्रमा पुरानो धार र नयाँ धार भन्नेहरुको भिन्नता पनि त्यहि बेलादेखि शुरु भयो । उनले बनाएको चलचित्रमा न त चलेका कलाकार थिए न त चलेका निर्माण समूह नै । त्यहि पनि उनले बनाएको सिनेमा दर्शकहरुले मनपराए र उनी स्थापित बने ।

चलचित्र निर्देशनबाट नेपाली चलचित्रमा हामफालेका निश्चल अचेल गीत पनि गाउँछन्, अभिनय पनि गर्छन् भने चलचित्रको गीतमा गज्जबले कम्मर पनि मर्काउँछन् । उनले नाचेका तथा अभिनय गरेका कैयौँ गीतहरु निकै चर्चित र लोकप्रिय बनेका छन् । लुट प्रदर्शनको ७ वर्ष नाघिसक्दा उनले अहिलेसम्म तीनवटा चलचित्र मात्र निर्देशन गरेका छन्, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ । तीनवटा चलचित्र मात्र निर्माण गरेका उनी विभिन्न चलचित्रको गीतमा नाच्छन् भने कतिपय चलचित्रमा मुख्य भूमिकामा पनि देखिएका छन् । यस्तै उनकै मुख्य भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यहि कात्तिक २२ गतेबाट हलहरुमा प्रदर्शन हुँदैछ ।

यसअघि तिहारमा छुट्टीमा प्रदर्शन हुने भनिएको चलचित्र अन्य चलचित्रसँग जुध्ने भएपछि कात्तिक २२ लाई सािरएको हो । उनले ‘घामड शेरे’मा मुख्य कलाकारकै रुपमा अभिनय गरेका छन् । चलचित्र निर्देशनमा नलागी अभियनमा मात्र लाग्दा उनलाई एउटा आरोप लाग्ने गरेको छ । धेरैले उनलाई ‘लुट फिल्मको ब्याज खाइरहेको समेत भनेका छन् । यहि प्रश्न आइतबार राजधानी गरिएको चलचित्र ‘घामड शेरे’को पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीहरुले राखे । प्रश्नको जवाफमा उनले यो आरोपलाई सोच्दै नसोची नकारे ।

निश्चलले भने, ‘त्यो गुडविलले काम गरेको चाँही हो । मलाई हेर्ने नजरमा पनि एकहदसम्म फरक पारेको छ । त्यो ब्याज चाँही मैले खाइराको छु की ममाथि लगानी गर्ने मान्छेहरुले खाइरहनुभएको छ, आफैँ मुल्याङ्कन गर्नुस् ।’ यति भन्दै गर्दा उनी मुसुक्क हाँसे । एक फरक प्रसङ्गमा उनले आफू हरेक वर्ष चलचित्र बनाउने चक्करमा नभएको स्पस्ट पारेका छन् । ‘मैले बनाउने फिल्म र मैले खेल्ने फिल्मको स्क्रिप्ट अरुभन्दा फरक हुनैपर्छ, त्यहीभएर पनि टाइम लागेको हो ।’ उनले थपे ।