nepal telecom२५ साउन, काठमाडौ । नेपाल टेलिकमले लेनेभो र माइक्रोम्याक्स ब्राण्डका मोबाइल सेटमा आईपी सीडीएमएको रिम बण्डलिङ गरी विक्री गर्ने भएको छ । बजारमा ग्राहकका रुचिअनुसार पर्याप्त सीडीएमए सेट उपलब्ध नभएपछि कम्पनीले थप दुईओटा ब्राण्डसँग बण्डलिङ गरी आईपी सीडीएमए विक्री गर्ने योजना अघि बढाएको हो ।

यस सम्बन्धमा नेपालका लागि लेनेभो र माइक्रोम्याक्स मोबाइलका आधिकारिक विक्रेतासँग करीब १ महीनाअघि नै सम्झौता भइसकेको टेलिकमका उपप्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले अभियानलाई जानकारी दिए । ‘अब आईपी सीडीएमए सेवाको प्याकेज अल्काटेकसँगै लेनेभो र माइक्रोम्याक्ससँग पनि उपलब्ध हुनेछ, ’उनले भने, ‘बण्डलिङमा विक्री हुने आईपी सीडीएमएसहितको मोबाइल फोन तुलनात्मकरूपमा सस्तोसमेत हुनेछ ।’

यसअघि टेलिकमलाई सीडीएमए मोबाइल सेट उपलब्ध गराउन सामसुङको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस प्रालि र अल्काटेक मोबाइलको आधिकारिक विक्रेता चौधरी ग्रूपले ‘सेट बण्डलिङ’सम्बन्धी सम्झौता गरेका थिए भने खबर आर्थिक अभियानमा छ । तर, चौधरीले सेट उपलब्ध गराए पनि आईएमएसले ल्याउन सकेन ।

अहिले टेलिकमले विक्री गर्दै आएको आईपी सीडीएमए प्याकेज अल्काटेक मोबाइलमा उपलब्ध रहेको छ । बजारमा ग्राहकको रुचिअनुसारका सस्ता र आकर्षक सीडीएमए सेटहरू पर्याप्त उपलब्ध नभएका कारण कम्पनीले माइक्रोम्याक्स र लेनेभोसँग पनि बण्डलिङको सम्झौता गरेको हो ।