९ मंसिर, काठमाडौं । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आजबाट सुरु भएको छ । प्रत्येक वर्ष महिला हिंसा अन्त्यको दिवस पारेर लैंगिक हिंसा विरुद्ध १६ दिने  अभियान सुरु हुन्छ ।

अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइने हुनाले यसलाई लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान भनिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यो वर्षको राष्ट्रिय नारा  ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ तय गरेको छ । 

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको जनाएको छ ।

यस्तै विश्वमा भने “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईंदै छ । लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ । प्रत्येक वर्ष यो अभियान विविध कार्यक्रम सहित मनाएपनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन् ।