विराटनगर, २७ जेठ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले लोकसेवा आयोगलाई सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

स्थानीय तहमा कर्मचारी भर्ना आव्हान गर्दै लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन विवादित भएका बेला उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोख्रेलले संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने काममा सरकारले हस्तक्षेप गर्नु राम्रो नहुने उनको भनाइ छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश लोकसेवा आयोग गठन गर्ने भएपनि त्यसमा भएको ढिलाईले लोकसेवाले अहिले विज्ञापन खुलाएको उनले बताए । आयोगको सूचना समावेशी सिद्धान्तमै आधारित रहेको मन्त्री पोख्रेलको दाबी छ । उनले अस्थायी तथा करार सेवामा भर्ना गर्ने अधिकार दिँदा अनियमितता हुने गरेको गुनासो आइरहेकोले पनि आयोगले निष्पक्षरुपमा कर्मचारी भर्ना गर्नु उचित हुने बताए ।

तर मिनि संसद मानिने संसदको राज्य व्यवस्था तथा शुसासन समितिले भने आयोगको विज्ञापन रद्ध गर्न निर्देशन दिइसकेको छ । साथै स्थायी पदपूर्ती नहुन्जेल करारमा कर्मचारी नियुक्तीको बाटो खोल्न पनि सरकारलाइ दबाब दिएको छ ।