२६ कात्तिक, बनेपा । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा बहिरा नागरिकसँग अन्तक्र्रिया गर्दै उनले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनुपर्ने बताए ।

हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उनले उल्लेख गरे । उनले अपांग भएकालाई पनि बन्द सूचीभित्र राख्ने दायित्व दलको भएकाले स्वतन्त्र र निष्पक्षरुपमा मताधिकारको प्रयोग गर्न बहिरा नागरिकलाई अनुरोध गरे।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “यो राष्ट्रिय निर्वाचन लोकतन्त्र, गणतन्त्र र संघीयता कार्यान्वयन गर्नका लागि हो ।”

बहिरा नागरिकलाई सक्षम नागरिकका रुपमा मतदाताको भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भावी सन्ततिको सुख, शान्ति र समृद्धिका लागि निर्वाचन हुन लागेको बताए ।

बाउन्न जिल्लाका ७० जनाको सहभागिता रहेको यस अन्तक्र्रियामा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिरा नागरिक करदाता र मतदाता मात्रै भएको गुनासो गरे ।

उनले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गरे ।

समानुपातिक सूचीमा बहिरा नागरिक कोही पनि नपरेकामा उनले दुःख पनि व्यक्त गरे । अध्यक्ष अधिकारीले बहिरा नागरिकलाई भने, “मत बदर नहोस् भन्ने विषयमा ध्यान दिनुहोला ।”

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले अपांग भएकालाई पनि मतदान प्रक्रियामा सहभागी गराउन र मतदान, मतगणना, मतको सदुपयोग गर्न सिकाउन यस्ताखाले कार्यक्रम प्रभावकारी हुने बताए । रासस