२४ फागुन, चितवन । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चिएका छन् । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताए । ‘आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ’, नगर प्रमुख थापाले भने ।

जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उनले बताए । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आएका छन् । उनले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गरेका छन् ।

रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो । रासस