१७ भदौ, काठमाडौं । नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला शरणपुर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका–२ घर भएका २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्ठी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटना भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका–४ स्थित कम्फर्ट कोलनी नजिक फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईलास्थित शरणपुरचोकमा झै–झगडा भएको भन्ने महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो । घाइते बस्नेतलाई उपचारका लागि प्रहरीले मनमोहन अस्पताल स्वयम्भूमा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मादक पदार्थ तथा अन्य नशालु पदार्थको सेवनबाट मातेर मृतकसँग सामान्य विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।