६ चैत, काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका देशमा भएका जोसुकै नागरिक नेपालमा आउन नपाउने प्रष्ट पारेको छ ।

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध भोलि मध्यरातबाट लागू हुनेछ ।

तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पारेका छन् । उनले भने, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । (प्रतिबन्ध) बाटो खुलेपछि आउनुस् ।’