गृहमन्त्री रामबहादुर थापा सोमबारदेखि यहाँ शुरु भएको विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनपछि सम्बोधन गर्दै । तस्वीरः भीष्मराज ओझा, रासस ।

काठमाडौं, २७ जठ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उनले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या हो भने ।

गृहमन्त्री थापाले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तन जस्ता विषय राष्ट्रको विकाससँग जोडिएको उल्लेख गर्दै यसमा आइपर्ने चुनौती समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए। विकसित देशका विकास नीतिको परिणाम प्राकृतिक विपद् र जलवायु परिवर्तनमा समस्या उत्पन्न भएको बताउँदै उहाँले विद्यमान नीतिलाई निरन्तरता दिने कि परिवर्तन गर्ने आजको प्रमुख प्रश्न हो भने।

उनले विकासशील राष्ट्रले जलवायु परिवर्तनमा नखाएको विष लागेको भन्दै यसका विरुद्ध दक्षिण एशियाली मुलुकहरुबीच ऐक्यबद्धता र सहकार्य गरी आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे । दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले स्थानीय तहसँगको सहकार्यले पुनःनिर्माणमा तीव्रता आउनुका साथै सहज भएको उल्लेख गरे। साथै उनले भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिएका थिए । सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ । सम्मेलनमा विभिन्न मुलुकका सहभागी विज्ञले विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकाका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

सम्मेलनका विभिन्न सत्रमा विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको प्रस्तुति रहने छ । विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरूपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।