२२ पुस, काठमाडौं । पछिल्लो समयका चर्चित एवं लोकप्रिय कलाकार विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको छ ।

काठमाण्डौदेखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा चलचित्र बनेको छ । चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ । प्रबल कोइराला र राजेश विसुराल यो चलचित्रका सह–निर्माता हुन् । माघको २४ गतेबाट प्रदर्शन हुने चलचित्रमा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ । चलचित्रले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ भन्ने देखाउन खोजेको छ ।