३० भदौ, काठमाडौं । नेपाल प्रहरीले झापा र डोल्पाबाट विप्लव समूहका तीन नेतालाई पक्राउ गरेको छ ।

विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा चन्द समूहको अखिल क्रान्तिकारीका डोल्पा जिल्ला संयोजक उपेन्द्र रावतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ । ताजाकोट गाउँपालिका–५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट सोमबार पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।