२८ फागुन, काठमाडौं । विल्पव समूहको नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घुसमा मोलमोलाई गरेको भन्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गरेको छ ।

पार्टीले बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट गराएको छ । घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा जारी पर्चामा बाँस्कोटाले विभिन्न विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

विप्लप समूह निकट मानिने ईरातोखबर डटकमले पनि विप्लव समूहले उक्त कारवाही गराएको उल्लेख गरेको छ । यस्ता छन् विप्लव समूहले गोकुल बाँस्कोटामाथि कारवाही गर्नुका १० कारण ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।