२१ माघ, काठमाडौं । गायिका आस्था राउतको त्रिभुवन विमानस्थलमा भएको घटना एउटा दुर्घटना भएको बताएकी छन् । ‘विमानस्थलमा दुर्घटना भयो, क्रियापछिको प्रतिक्रियाका कारण त्यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भनिन्, ‘दुर्घटना थियो, नियोजित थिएन र त्यसप्रति मैले आत्मालोचना गरे ।’

विमानस्थलको घटनापछि आएको लाइभमा गायिका राउतले आफ्ना केही शब्दहरु अमर्यादित भएको स्वीकार गरेकी छन् । उनले भनिन्, ‘मेरा केही शब्दहरु अमर्यादित थिए यद्यपि मेरो एजेण्डा ठिक थियो तर प्रस्तुतिमा समस्या भयो ।’ लाइभमा आएको त्यो शब्दहरु आफ्नो रुवाइ भएको उनको तर्क छ । उनले भनिन्, ‘मान्छेले आफ्ना चित्तदुखाई विभिन्न तरिकाले सेयर गर्छन्, मेरो त्यस्तो रुपमा बाहिर आयो ।’ प्रहरीलाई आफूले अभिभावक ठानेको र अभिभावकमाथि आफ्नो चित्त दुखाई राखेको उनको तर्क छ । उनले थपिन्, ‘त्यो विशेष परिस्थितिको लागि मैले यसअघि नै माफी मागिसकेँ, त्यो आवेग थियो, नियोजित थिएन ।’

विमानस्थलमा आफूहरु दुबैको गल्ती भएको उनको जिकिर छ । उनले थपिन्, ‘क्रियापछिको प्रतिक्रियास्वरुप आएको मेरो आवेग हो । विमानस्थलमा मेरो मात्र गल्ती पनि हैन उहाँको मात्र गल्ती पनि होइन । हामी दुवैको गल्ती भएको तर त्यो विशेषतः परिस्थितिमा भने ममाथि दुर्व्यवहार भएकै हो । एयरपोर्टमा सिर्जना भएको वातावरणमा मेरो चित्तदुखाई हो ।’

माघ १ गते कार्यक्रमको लागि सिक्किम जान लागेकी आस्था राउतले विमानस्थलमा आफूमाथि विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै भद्रपुर विमानस्थलमा पुगेर फेसबुक लाइभमार्फत प्रहरीलाई अपशब्द प्रयोग गर्दै.गाली गरेकी थिइन् । सिक्किममा कार्यक्रमै रहँदा पनि उनले आफूले गल्ती गरेको भन्दै माफी मागेकी थिइन् । तर प्रहरीले यता काठमाडौ जिल्ला अदालतमार्फत आस्था राउतलाई पक्राउ गर्ने अनुमति माग्यो । अदालतले पनि पक्राउ गर्न आदेश दियो ।

आस्था काठमाडौं फर्केको भोलिपल्ट बिहानै आफ्नो बुवासँग महानगरीय प्रहरी परिसर टेकु पुगिन् । प्रहरीले जिल्ला प्रशासनमा लगेपछि प्रशासनले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो । प्रशासनको अनुमति लगत्तै प्रहरीमाथि नागरिक समाजा र सामजिक सञ्जालमा प्रतिसोध साध्नको लागि गायिका थुनेको आरोप लाग्यो । प्रहरीले दबाब थेग्न नसकेपछि भोलिपल्टै उनलाई ४ हजार रुपैयाँ धरौटीमा छोडियो । त्यसबीच आस्था प्रहरी हिरासतमा नबसी त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा बसिन् ।