२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

सिंगापुरमा उपचार गरि सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका हुन् । प्रधानमन्त्री साउन १८ गते सिंगापुर गएका थिए । उनी गएको भोलिपल्टैदेखि लगातार उपचारमा थिए ।

सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीरः रत्न श्रेष्ठ रासस

प्रधानमन्त्री ओली १० दिन देश बाहिर उपचारका लागि रहेको भएपनि यो बीचमा नेपाल सरकारका कुनै पनि निकायले प्रधानमन्त्रीलाई भएको के हो ? र उपचार कसरी भइरहेको छ भनेर कुनै जानकारी सार्वजनिक गरेकोे थिएन ।

सरकार प्रमुखको स्वस्थ्यबारे दैनिक जानकारी दिइनुपर्नेमा प्रधानमन्त्री स्वयम् उपचार सकेर फर्किएपछि पनि पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिइ बाहिरिए । पत्रकारलाई हात हल्लाएर बाहिरिएका ओलीले बालुवटार पुगेर ट्वीट गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीरः रत्न श्रेष्ठ रासस

उनले भनेका छन्, सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।’