काठमाडौं, ८ जेठ । सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक एवं चर्चित संचारकर्मी रबि लामिछाने विशेष कार्यक्रम लिएर अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीका समस्या र समाधानका उपायबारे अन्तरक्रिया गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । हालै चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पाैडेलसँग वैवाहिक बन्धनमा बाँधिएका लामिछाने श्रीमतीसहित अष्ट्रेलिया गएका हुन् ।

अष्ट्रेलिया उड्नुअघि एयरपोर्टमा रबि ।

लाहुरी टिभी अष्ट्रेलियाको आयोजना, बाबा एजुकेशन कन्सल्टेन्सी र आर के एस अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको सिधा कुरा जनतासँग विशेष कार्यक्रमका लागि उनी अष्ट्रृलिया गएका हुन् । कार्यक्रम सिड्नीको हर्सभिलमा रहेको मराना अडोटरियममा मे २४ तारिखमा हुनेछ । कार्यक्रम स्थलमा विद्यार्थी र अभिभावकलाई प्रवेश निशुल्क गरिएको छ भने अरुलाई २५ डलर शुल्क तोकिएको आयोजकले जनाएको छ ।

केही समय अघि अष्ट्रेलियाका विद्यार्थीले आफूहरु अलपत्र परेको भन्दै लामिछानेको टेलिभिजन कार्यक्रममा गुनासो गरेका थिए । जसका कारण कन्सल्टेन्सी जगतमा हंगामा मच्चिएको थियो । लामिछनेले सिधा कुरा जनतासँग कार्यक्रममार्फत् आम नागरिकका दुःख पीडालाई मुखरित गर्नुका साथै अन्याय, अत्याचार, शोषण, ठगी, लुट र भ्रष्टाचार जस्ता आपराधिक कार्यविरुद्ध आवाज उठाउँदै आएका छन् ।

विभिन्न शिलशिलामा अष्ट्रेलियामा रहेका नेपालीहरुले भोगिरहेका दुःख पीडा र समस्याले उनले कार्यक्रममार्फत् उजागर गर्ने छन् । बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलियाका संचालक रविन्द्रकुमार शर्माले सामाजिक कार्यक्रमलाई सहयोग गरि अग्रशर भएर समुदायमा काम गर्न पाउनु खुसिको कुरा रहेको बताएका छन् ।