एजेन्सी । क्रिकेट खेलका क्रममा धेरै खेलाडी बोल्ड भएका त हामीले देखेकै छौं । तर स्पष्ट बोल्ड भएको बल छक्का भएको चाहिँ देख्न गाह्रो छ ।

यस्तै रोचक घटना भएको छ विश्वकप क्रिकेटको जारी संस्करणमा । शनिबार कार्डिफमा इङ्ल्याण्ड र बंगलादेशबीचको खेल चलिरहेको थियो । पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश २ सय ८० रनमा अलआउट हुन पुग्यो । खेलको चौथो ओभरमा बंगलादेशका सौम्य सरकारले ब्याटिङ गर्ने क्रममा बोल्ड भएर पनि बल छक्का हुन पुग्यो ।

इङ्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले १ सय ४३ किलोमिटर प्रतिघण्टाको गतिमा गएको बलले स्टम्प उडाएर विकेट किपरको माथिबाट बाउन्ड्रि पार गर्यो । बल छक्का भएपनि पहिला बोल्ड भएकाले सौम्य २ रनमा पेभेलियन फर्किए । यसका अलावा आर्चरले यो प्रतियोगिताकै सबैभन्दा तीव्र १५३‍.०४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर रेकर्ड पनि बनाए। शुरुवातमा बंगलादेशले टस जितेर इङ्ल्यान्डलाई पहिले ब्याटिङमा बोलाएको थियो। खेलमा बंगलादेश १०६ रनले पराजित भयो ।