२८ असोज, काठमाडौं । विश्वकप फुटबलको छनौटमा नेपालले आज राति जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ । खेल जोर्डनको घरेलु मैदान अम्मान रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार बेलुकी पौने १० बजे सुरु हुनेछ ।

विश्वकप छनोट अन्तर्गत सन् २०११ जुलाईमा भएको पहिलो खेलमा नेपालले सोही रंगशालामा जोर्डनसँग ९–० को हार ब्यहोरेको थियो। त्यसपछि नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको अर्को खेलमा भने नेपालले अप्रत्यासीत रुपमा पुन जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। नेपालका लागि एकमात्र गोल भरत खवासले गरेका थिए।

फिफा वरियतामा नेपाल भन्दा जोर्डन ६३ स्थान माथि रहेको छ । जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेइलाई २–१ ले हराएको थियो भने कुवेतसँग बराबरी खेलेको थियो। एसियाली छनोट अन्तर्गत समुह डीमा रहेको जोर्डन ४ अंक बटुल्दै तेस्रो स्थानमा छ। नेपाल भने पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो अन्तरले हारेको थियो । लगत्तै नेपालले चाईनिज ताईपेइलाई २–० ले हराएको थियो। गत साता मात्र अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएर अर्को खेलका लागि जोर्डन पुगेको हो । अंक तालिकामा तीन अंक जोडेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ।