१७ चैत, काठमाडौं । संसारभर कोरोनाभाइरसको जोखिम बढिरहेको बेला नेपालमा पनि त्यसको जोखिम बढिरहेको छ । यसैबीच नेपालमा अहिलेसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् । यसै सन्दर्भमा आइतबार बुटलमा रहेको कोरोना विशेष अस्पतालमा १ जना आइसोलेसनमा बसेकाको मृत्यु भएको छ । दुबईबाट आएका ३४ वर्षीय उनमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरिसकेको छ ।

यस्तै सोमबार पनि कोरोनाको आशंका लागेका तीनजनाको मृत्यु भएको छ । २ जनाको वीर अस्पतालमा र १ जनाको पाटन अस्पतालमा कोरोनाको आशंका गरिएको तीनजनाको मृत्यु भएको हो । पाटनमा रेनल फेलरका एकजना ३६ वर्षीय पुरुष भर्ना भएका थिए । उनमा उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको स्वाब संकलन गरेर परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार वीर अस्पतालमा भर्ना भएकामध्ये एकजना महिलामा उच्च रक्तचाप र मधुमेहको रोगी भएको पाइयो । यद्यपि उनका पनि उच्च ज्वरो भने थियो । त्यसैगरी अर्को मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको र उनी कालीमाटीमा बस्ने गरेको प्रवक्ता देवकोटाले बताए । मृत्यु हुने भारतीय नागरिकमा पनि उच्च ज्वरो देखिएको थियो । उनीहरु दुबैजनाको नमूना संकलन भएर परीक्षणको लागि गएको छ ।