६ मंसिर, काठमाडौं । सुकेको जीउभरि चुरोटले पोलेको दाग, तातो पानीले डामेको खाटा, संवेदनशील अङ्गमा घाउका डोब देखिन्छन् । कलेजोले काम गर्न छाडिसकेको छ । बेलाबेलामा पेटमा पानी जमेर निकाल्नुपर्ने अवस्था छ ।

दयनीय अवस्थामा सडकबाट उद्धार गरेकी एक महिला अहिले काठमाडौँको वीर अस्पतालमा उपचाररत छिन् । शुरुमा एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर उनलाई काठमाडौँ ल्याएकी थिइन् । काठमाडौँको होटलले भने खाना पकाउने कामको सट्टामा आफूलाई देह व्यापारमा लगाएको पीडित महिला बताउछिन् ।

होटलमा मदिरामा पाउडर मिसाएर खुवाउने अनि ग्राहकसँग बस्न लगाउने गरेको उनको आरोप छ । नमान्दा भने तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले सुनाइन् । अस्पतालमै पुगेर उनको अवस्था बुझ्नुभएका पूर्वमन्त्री कमला पन्तले इच्छा विपरीतका काममा लगाएर विक्षिप्त बनाएपछि उनलाई सडकमा छाडिएकोे जिकिर गरिन् । ‘मान्छे हेर्नासाथै मन विरक्तिएर आउँछ, धन्न कसरी बाँचिन्झैँ लाग्छ’, पन्तले भनिन् ।

पीडितका अनुसार सानै उमेरमा सिन्धुपाल्चोकको एक गाउँमा उनको विवाह भएको थियो । दुई बच्चा गाउँमा आफन्तसँग छन् । श्रीमानको निधनपछि सहारा दिने मान्छे नभएर उनी काठमाडौँ आइन् । महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले काठमाडौँ ल्याएर उनलाई छाडेकी थिइन् । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले देह व्यापारमा लाग्न महिलालाई कसैले बाध्य पारेको हो कि भनेर अनुसन्धान थालिएको बताए ।

महिलाको बयानका आधारमा सोधपुछका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । महिला विगतदेखि नै सडकमा देखेको स्थानीयवासीले बताएकाले खास कारण के हो भनेर अझै अनुसन्धान गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ । यदि सडकमै बस्ने भए पनि उनी सडकमा आउनुपर्नाको कारण के हो भन्नेतर्फ प्रहरीको ध्यान जानुपर्ने महिला अधिकारकर्मीको भनाइ छ । ‘ज्यानभरि चुरोटैचुरोटले पोलेको छ, विभिन्न अस्पतालमा उपचार गराइरहेका छौँ, अवस्था नाजुक भए पनि सुधारोन्मुख छ’, परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले भने ।

Bir hospital1

घर सिन्धुपाल्चोक र माइती बागलुङ बताउने महिलाको प्रजनन अङ्गमा समेत समस्या हुनसक्ने आशङ्कामा परीक्षण भइरहेको छ । उनको कलेजो बिग्रिसकेकाले प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । सडकमा पेट फुलेको अवस्थामा महिला रहेको माछापोखरीबाट एक व्यक्तिले मानवसेवा आश्रममा खबर गरेपछि उनलाई अस्पताल पु¥याइएको थियो ।

अस्पतालले पेटमा पानी जमेर ठूलो भएको तर कलेजोले काम नगरेको प्रतिवेदन दियो । बेसहारा रहेकाले अहिले उनको रेखदेख आफूहरुले नै गरिरहेको आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार हाल २२ वर्षीया उनको १३ वर्षमा बिहे भई १५ वर्षमा नै उनले शिशु जन्माएकी थिइन् । झण्डै दुई वर्षदेखि उनी यसरी काठमाडौँमा बस्न बाध्य भएको जनाइएको छ । रासस