१७ चैत, काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमण भएको आशंकामा वीर अस्पतालमा भर्ना भएका थप एकजनाको मृत्यु भएको छ ।

भारतबाट आएका अन्दाजि ५० वर्षीय ती पुरुषलाई आज विहान झण्डै बेहोस अवस्थामा अस्पताल लगिएको थियो । उनी हालै भारतबाट आएको खुलेको छ । यनमा अत्यधिक ज्वरो रहेको र स्वाश फेर्न पनि गाह्रो भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Bir-Hospital

अस्पताल पुर्याएको केहीबेरमा उनको मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । यसअघि वीर अस्पतालमै एक महिलाको मृत्यु भएको थियो । कोरोना आशंकामा भर्ना भएका उनको पनि स्वाब परीक्षणका लागि टेकु पठाइएको छ ।

पाटन अस्पतालको आइसियुमा उपचार गराइरहेका एक व्यक्तिको पनि आजै मृत्यु भएको छ । उनको पनि मृत्युको कारण कोरोना आशंका गरिएको छ ।