१७ चैत, काठमाडौं । कोरोनाको संक्रमण भएको आशंकमा भर्ना भएका तीनजनाको मृत्यु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । बीर अस्पतालमा मृत्यु भएका दुई जना र पाटन अस्पतालमा मृत्यु भएका ३६ वर्षीय एक पुरुषको स्वाब संकलन गरी परीक्षण थालिएको देवकोटाले बताए ।

वीर अस्पतालमा मृत्यु भएकामध्ये एकजनामा ब्लड प्रेसर र सुगरको समस्या रहेको तर ज्वरो आएकाले कोरोना परीक्षण गरिएको डाक्टर देवकोटाको भनाई छ । ‘हामीले तीनै जनाको नमुना संकलन गरेर परीक्षण गरेका छौं, उनले भने, ‘यसको परीक्षण रिपोर्ट आएपछि यसबारे थप जानकारी गराउनेछौं ।’

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डाक्टर खेम काकर्कीले अहिले जो मरेपनि कोरोनाकै कारण भनेर नबुझ्न आग्रह गरे । ‘गाउँघरमा कोही मर्यो भने पनि अहिले कोरोनाकै कारणले मर्यो भनेर मलामी नजाने भन्नेसम्म गरेको पाइयो यो गलत हो ।’ उनले भने, अरु कारणले मरेको मान्छेलाई पनि कोरोना भएको भनेर प्रचार नगरौं ।’