१७ चैत, काठमाडौं । कोरोना आंकामा काठमाडौंको वीर अस्पताल र ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । वीर अस्पतालको आइसोलसन कक्षमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो ।

सांकेतिक तस्वीर

काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी ३८ वर्षीया महिलाको निधन भएको अस्पतालले जनाएको छ । ज्वरो आएपछि एक साताअघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीर अस्पनतालमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन् । उनको कोरोना पुष्टि भइसकेको छैन ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना बिरामीको पनि मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत धादिङका युवकको आज मृत्यु भएको हो । चैत १४ गते नेपाल फर्किएपछि बिरामी भएका उनलाई उच्च ज्वरो आएको थियो । त्यसपछि उनलाई उपचारका लागि हिजो दिउँसो पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि मृत्युको कारण खुलेको छैन ।