१७ चैत, एजेन्सी । चीनको वुहानका मानिसहरुले त्यहाँ मात्रै ४२ हजार मानसको कोरोनाका कारण मृत्यु भएको दाबी गरेका छन् । यद्यपि चीन सरकारले भने अहिलेसम्म देशभरमा मृत्यु हुनेमो संख्या ३३ सयको हाराहारीमा रहेको बताउँदै आएको छ ।

डेली मेलको रिपोर्टका अनुसार चीनको हुबेई प्रान्तका आधिकारीहरुसँग जोडिएको सुत्रलाई उदृत गर्दै कैयौँ मानिसहरुको जाँच नै नगराई घरमै मृत्यु भएको जनाएको छ । १ महिनामा २८ हजार मानिसको शवदाह गरिएको श्रोतको भनाइ छ । वुहानका स्थानीय मानिसहरुले बताएको मृतकको संख्या र चीन सरकारले बताएको आधिकारिक आँकडामा सामान्य रुपले फरक परेको छैन । झण्डै १० गुणाभन्दा बढीले फरक परेको छ ।

वुहानमा रहेका मानिसहरुका अनुसार त्यहाँ फरक–फरक फ्युनरल होम (शवदाह गृह)मा दैनिक ५ सय वटा शव दाह गर्ने गरिएको छ । यस्ता शवदाह गृहहरु ७ वटामा नियमित शवदाह गरिएको उनीहरुको भनाइ छ । उनीहरुका अनुसार दैनिक ३८ सयको हाराहारीमा त्यहाँमा शव दाह गरिएको थियो । हंकोउ, वुचाङ र हान्यांङमा बस्ने मृतकका परिवारका अनुसार त्यहाँ १२ दिनमा ४२ हजार मानिसको मृत्यु भएको थियो ।

चीनको हुबेई प्रान्तमा लगाइएको लकडाउनमा केही छुट दिन थालेपछि यस्ता किसिमका रिपोर्टहरु बाहिर आएको डेलीमेलले आफ््नो समाचार उल्लेख गरेको छ । अहिले हुबेईमा स्कुल र मलहरु खुलेका छन् । सरकारले त्यहाँ भएका परीक्षण गराएर नेगेटिभ आएका मानिसहरुलाई ग्रिन हेल्थ प्रमाणपत्र दिने गरेको थियो । सो प्रमाणपत्र बोकेपछि मानिसहरु उक्त प्रान्त छोडेर अन्त जान पाएका छन् ।

हुबेई प्रान्तमा २३ जनवरीदेखि लकडाउन गरिएको थियो भने २५ मार्चमा पहिलोपटक कैयौँ प्रतिबन्धहरु हटाइएको थियो । यद्यपि त्यहाँको जनजीवन अझै सामान्य भने भएको छैन । हुबेईकै वुहान शहरबा बाहिर निस्कन र भित्र छिर्न भने अझै पनि ८ अप्रिलसम्म प्रतिबन्ध लगाइएको छ । रेडियो फ्रि एसियाको रिपोर्टमा वुहानका एक व्यक्तिले अन्तर्वार्ता दिएका छन् । झाङ नामक उक्त व्यक्तिले व्यक्तिले अन्तर्वार्तामा त्यहाँको शवगृहमा २४ घण्टै काम चलिरहेको बताएका छन् । त्यसकारण पनि ३३ सय मात्र मर्नेहरुको सहि तथ्याङ्क नभएको उनको तर्क छ ।

अर्का एक व्यक्तिले सरकारी अधिकारीहरुले बिस्तारै वास्तविक आँकडा सार्वजनिक गनुपर्ने धारणा राखेका छन् । वास्तविक आँकडाले मानिसहरुलाई बिस्तारै–बिस्तारै बास्तविकता स्वीकार्न सहज हुने उनको विचार छ । चीनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ सय पुगेको सरकारी तथ्यांक छ । त्यहाँ संक्रमितको संख्या ८१ हजारभन्दा बढी रहेको छ । ७५ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किसकेका छन् भने झण्डै ३ हजार मानिसको अहिले पनि उपचार जारी छ ।