१८ चैत, काठमाडौं । कोरोनाभाइरसको संक्रमणको आशंकामा देशभर ८७ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टेकु अस्पताल र प्रदेशभर गरेर ८७ जना आइसोलेसनमा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल १० जना र विभिन्न प्रदेशमा गरी ७७ जना आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वाबको नमूना संकलन गरी परीक्षण गर्नको लागि प्रयोगशालामा लगिएको उनले जानकारी गराए । प्रवक्ता देवकोटले अहिलेसम्म १ हजार ६० जनाको नमूना परीक्षण गरिएको जानकारी गराए ।

एक फरक प्रसङ्गमा मन्त्रालयका प्रवक्ता डा. देवकोटले दोश्रो र तेश्रो संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सकिएको र चौथो र पाचौँको कन्ट्राक्ट ट्रेसिङको काम ८० प्रतिशत सकिएको बताए । कोरोनाभाइरसको संक्रमण देखिएको व्यक्तिले क–कसलाई भेटेको छ भनि सम्पूर्ण मानिसहरुको पहिचान गर्नुलाई कन्ट्राक्ट ट्रेसिङ भनिन्छ ।

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनैजनाको कोरोनाभाइरस परीक्षण नेगेटिभ आएको पनि पवक्ता देवकोटाले जानकारी दिए । साथै उनले अस्पतालमा भएका हरेक मृत्युलाई कोरोनाभाइरससँग नजोड्न आग्रह गरेका छन् । यस्तै सामान्य ज्वरो आएका बिरामीहरुलाई अस्पताल एवं स्वास्थ्य संस्थाहरुले नजाँचेको गुनासो आएकाले सबै अस्पतालहरुले सामान्य बिरामीहरुलाई जाँच्नको लागि पनि आग्रह गरेका छन् ।