३ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिडिरहेका छन् । उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रङ्गशालामा खेल हुँदैछ । दुवै टोली पहिलोपटक उपाधि जित्ने होडमा छन् ।

आर्मी लिग तालिकाको शीर्षस्थानमा छ । मच्छिन्द्र दोस्रो स्थानमा छ । आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेको छ । मच्छिन्द्रले हालसम्म खेलेका १२ खेलमध्ये नौमा जित, दुईमा हार तथा एकमा बराबरीका साथ २८ अङ्क जोडेको छ । अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको एक अङ्क घटाइएको हो ।

आर्मीलाई उपाधि जित्न आज मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न आजको खेल अनिवार्य जित्नुपर्ने अवस्था छ । मच्छिन्द्र उपाधि होडमा पहिलोपटक सामेल भएको हो । आर्मीले विसं २०६३ को लिगमा नेपाल पुलिस क्लबसित पराजित भई उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र यता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । उपाधिका लागि मच्छिन्द्रभन्दा आर्मी सहज अवस्थामा छ । मच्छिन्द्र भने दबाबमा खेल्नेछ । आर्मीका कप्तान भरत खवास र मच्छिन्द्रका कप्तान विराज महर्जनले पनि प्रशिक्षकले जस्तै उपाधिमाथि आफ्नो टोलीको कब्जा रहने दाबी गरेका छन् । शहीद स्मारक लिग गत मङ्सिर २७ गतेदेखि शुरु भएको हो । रासस