२३ फागुन, काठमाडौं । संंयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि सेना पठाउने मुलुकमा नेपाल एक स्थान माथि उक्लिएको छ । शान्ति सेना पठाउने १ सय २२ मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल पाँचौं स्थानमा रहेको थियो । अहिले शान्ति स्थापना कार्यका लागि विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीमध्ये नेपाली सेनाका ५ हजार ९६ र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ५ सय ६२ जना शान्ति मिसनमा खटिएका छन् ।

नेपालले पहिलो पटक सन् १९५८ मा पहिलोपटक लेबनानमा शान्ति सेना पठाएको थियो । त्यतिबेला नेपाली सेनाले ५ जना पर्यवेक्षक सहभागी भएका थिए । अहिलेसम्म १ लाख २९ हजार ८ सय ९९ जना नेपाली सुरक्षाकर्मीले शान्ति मिसनमा सहभागिता जनाइसकेको निर्देशनालयले जनाएको छ । यीमध्ये नेपाली सेनाका १ हजार ४ सय एक महिला शान्ति सैनिकहरुले सहभागिता जनाइसकेका छन् भने हाल १ सय ८१ जना महिला अहिले विभिन्न मिशनमा कार्यरत छन् ।