१ भदौ, चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविन गर्न माग गर्दै उनका परिवारले संचारकर्मी रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी जाहेरी दिएकी हुन् । उनले प्रहरीले पक्राउ गरिसकेका युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी जाहेरी दिएकी छिन् । जाहेरी काठमाडौं मार्फत् चितवन जिल्ला प्रहरी कार्यालयमा आइपुग्ने चितवनका एसपी दानबहादुर मल्लले बताए ।

पुडासैनीले आफ्नो मृत्यु अघि रेकर्ड गरेको भडियोमा लामिछानेसहित कँडेल र कार्कीले आफूलाई मृत्युवरण गर्न बाध्य पारेको भन्दै तिनै जनालाई दोषी किटान गरेका थिए । तीनै जनालाई प्रहरीले काठमाडौबाट पक्राउ गरी चितवन लगेर पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ । किटानी जाहेरी परेपछि उनीहरुविरुद्ध थप अनुसन्धानका लागि प्रहरीलाई सहयोग पुगेको छ ।

पाँच दिनका लागि थपिएको म्याद भोली सोमबार सकिने भएकाले भोली नै अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।