२ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।

गएको साउन २० गते चितवनको नारायणगढ बसपार्कमा रहेको श्रेष्ठ पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा फेला पारिएको हो । चितवन प्रहरीले आइतबार बेलुकी पसलको सीसीटीभीको हार्डडिस्क नै लिएर अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय काठमाडौं पठाएको छ ।

प्रहरी स्राेतका अनुसार उनले लुगा सुकाउनका लागि भन्दै ५ मिटर डोरी किनेर लगेका थिए । सिसिटिभी फुटेजमा पसलमा काम गर्ने कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ । डाेरी किन्न उनी एक्लै पुगेका पनि स्पषट देखिन्छ। उनले एक्लै गएर डोरी किन्नुले हत्या नभई आत्महत्या नै हो भन्ने निश्कर्षलाई बल पुगेकाे छ ।

डोरी किनेपछि होटल पुगेर मोबाइलमा भिडियो सन्देश बनाएका पुडासैनीले आफूलाई आत्महत्या गर्नका लागि संचारकर्मी रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की दोषी रहेको उल्लेख गरेका छन् । प्रहरीले उनीहरु तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।