३२ साउन, एजेन्सी । फिटनेस आइकनको रुपमा परिचित भारतीय अभिनेत्री शिल्पा शेट्टी आफ्नो स्वास्थ्य र फिटनेसको विषयलाई लिएर एकदमै सतर्क छिन् । उनी आफ्नो खानपानमा ध्यान राख्नुका साथै नियमित व्यायाम पनि गर्ने गर्छिन् । शिल्पाले केहीसमय अघि फिटनेसको एउटा एप नै लञ्च गरेकी थिइन् ।

तर उनी अहिले अर्कै कारणले चर्चामा छिन् । शिल्पाले १० करोड रुपैयाँको अफर आएको एक स्लिमिङ पिलको विज्ञापन नगर्ने भएकी छन् । एक आयुर्वेदिक कम्पनीले हालसालै शिल्पालाई स्लिमिङ पिलको विज्ञापनको लागि १० करोड रुपैयाँ अफर गरेको थियो । तर, उनले सो विज्ञापन नर्गे बताएकी छिन् । किन यसो भनिन् त शिल्पाले ? उनि भन्छिन्, ‘मलाई उहाँहरुको प्रोडक्टमा विश्वास लागेन, उहाँहरुको कम्पनीको पिल्सले तुरुन्त काम गरिहाल्यो भने पनि त्यसले पछि स्वास्थ्यमा नराम्रो असर गर्ने देखेँ । त्यसकारण मैले विज्ञापन गरिन ।’

फिटनेसको लागि सन्तुलित भोजन र राम्रो दिनचर्याभन्दा राम्रो औषधि अरु कुनै पनि हुन नसक्ने शिल्पाको दाबी छ । मेडिटेसनले पनि फिटनेसका लागि उत्तम विकल्प भएको उनको तर्क छ । लामो समयदेखि टेलिभिजनमा नदेखिएकी शिल्पा रियालिटी शोको निर्णायकको रुपमा टेलिभिजनमा प्रस्तुत भइरहेकी छन् । यस्तै पतिको व्यवसायमा पनि उनले साथ दिँदै आइरहेकी छन् ।