३१ साउन, हेटौँडा । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताउनुभयो ।

‘नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ’, उहाँले भन्नुभयो, ‘पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।’

पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकरी गराइएको छ । सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले राससलाई जानकारी दिनुभयो ।

बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महीनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करीब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताउनुभयो । बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जाँच नगराएको उहाँको भनाइ छ । रासस