१९ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।

उनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताए ।

उनले भने, ‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजिनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’

उनले यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको बताउदै पोख्रेसलले आफ्नो तर्फबाट वामदेवको बलियो संभावना रहेकाले प्रधानमन्त्रीमा उठाउने बताए ।

नेता पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचन पनि समयमै हुनुपर्ने बताए । उनले भने, ‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ ।’

पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराएका छन् ।