६ भदौ, महोत्तरी । बर्दिबास नगरपालिका–३ की एक महिलाले श्रीमानको हत्या गर्न ४ लाख रुपैयाँ दिएको खुलासा भएको छ । ३६ वर्षे सरोज भनिने श्रवण थापालाई श्रीमती पूजाले ४ लाख रुपैयाँ दिएर श्रीमानको हत्या गर्न लगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सरोजको टाउको पछाडि ढुङ्गाले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको थियो । हत्या आरोपमा प्रहरीले सर्लाही रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा, वडा–२ का मुकेश साह, धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह र टिआई सहनीलाई पक्राउ गरिएको छ ।

असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको स्मृति पार्क नजिक सरोजको शव फेला परेको थियो । श्रीमती पूजाले आफ्नी बहिनीद्वारा पेसेवर अपराधी बोलाएर श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । अहिले सरोजकी श्रीमती पुजा भने फरार छिन् ।