३० भदौ, काठमाडौं ।

संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाईभन्दा बढीमतले आज पारित गरेको छ ।

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा पारित गरेको हो ।

हाल संविधानसभामा तत्काल कायम रहेको ५९८ सङ्ख्यामध्ये विधेयकको पक्षमा ५०७ मत परेको थियो । विपक्षमा भने २५ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्ले विपक्षमा मतदान गरे । संविधानसभामा आज भएको मतदान प्रक्रियामा ५३२ सभासद्ले भाग लिएका थिए । दुईतिहाई बहुमतका लागि ३९९ मत आवश्यक पर्दथ्यो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३१ रहेकामा त्यसमध्ये १० राजनीतिक दल र एक जना स्वतन्त्र सभासद् चन्द्रेश्वर झा संविधानसभा बाहिर छन् । सङ्घीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, सद्भावना पार्टीका ६, नेपाल सद्भावनाका १ , तराई मधेस सद्भावना पार्टीका ६, थरुहट तराई पार्टीका २, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, जनअधिकार फोरम गणतान्त्रिकका १, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका (थरुहट) १ सभासद् हालको संविधानसभाको प्रक्रियाबाट बाहिरिएका छन ।

Sambidhan Sava baithak (2)

संविधानसभामा ६०१ सभासद् रहने संवैधानिक व्यवस्था रहेकामा मन्त्रिपरिषद्बाट मनोनित हुन २ जना बाँकी रहेको तथा पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनपछि राप्रपाका एक जना सभासद् मनोनयन हुन सकेको थिएन ।

सभामा मतदानपछि सभासद्हरु एक आपसमा खुसी साटासाट गर्नुका साथै शीर्षनेतासँग मोबाइलबाट फोटो खिच्ने काममा व्यस्त हुनुहुन्थ्यो । साँझ ७ः३० बजे प्रारम्भ भएको पछिल्लो बैठकमा मतदानको कार्य भने राति ८:३० सम्म चलेको थियो । विधेयक पारित भएको खुशीयालीमा अधिकांश सभासद् खुसी देखिन्थे भने संविधानसभा अध्यक्ष नेम्वाङको मुहारमा पनि विशेष चमक देखिन्थ्यो ।

यसअघि बैठकमा प्रस्ताव प्रस्तुत गर्दै समितिका सभापति सिटौलाले भने, “संविधानसभाबाट सबै अटाउने संविधान निमार्ण भएको र हामीलाई एक ढिक्का भई नेपाल र नेपाली भएर बाच्न गौरव गरेको छ ।”

संविधानसभाबाट संविधान बनाएर दुनियाँका लागि नेपालले अनुकरणीय नमुना देखाउन सफल भएको बताउँदै उनले शान्ति र अहिंसाको बाटोबाट संविधान बनाउन सक्छौँ भन्ने प्रेरणा मिलेको धारणा राखे ।

आनुषङ्गिक सुधार गर्ने अधिकार संविधानसभाका अध्यक्षलाई
यसैबीच, संविधानसभा कार्य सञ्चालन नियमावली, २०७० अनुसार आनुषङ्गिक सुधार गर्ने अधिकार संविधानसभाका अध्यक्षलाई प्रदान गरेको छ ।

सभाबाट पारित संविधानको विधेयकमा धाराको क्रम सङ्ख्याको सम्बन्धमा र अन्य सामान्य विषयमा सुधार नगरी नहुने कुनै त्रुटि देखिएमा सोको आनुषङ्गिक सुधार गर्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापति पदेन सभापति तथा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षद्वारा मनोनित चार जना सदस्य रहेको एक समिति गठन गरिएको छ ।

सो समितिमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, अग्नि खरेल, गिरिराजमणि पोखरेल र कुन्तिकुमारी शाही रहने गरी तोकिएको छ । सो समितिको सिफारिसमा अध्यक्षले सभाबाट पारित भइसकेको संविधानको विधेयकमा आवश्यक देखेमा विधेयकका धाराको सङ्ख्याको क्रम मिलाउन र आवश्यक आनुषङ्गिक सुधार गर्न सक्ने व्यवस्था रहेको छ । विधेयकमा सभासद्बाट हस्ताक्षरका लागि आगामी असोज १ गते बिहान ९ गतेदेखि दिउसो १ बजे संविधानसभा भवन बानेश्वरको लोत्से सभाकक्षमा व्यवस्था मिलाइएको अध्यक्ष नेम्वाङले जानकारी दिए ।

बैठकमा अध्यक्ष नेम्वाङले लगातार दश पटकभन्दा बढी संविधानसभाको बैठकमा उपस्थिति नहुने सदस्यको नाम र कारणबारे जानकारी गराएका थिए । उनले असोज ३ गते संविधानसभा भवनमा आयोजना हुने कार्यक्रममा सभाध्यक्षले प्रमाणित गरेको नेपालको संविधान २०७२ को प्रतिमा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरेर घोषणा गर्ने कार्यक्रम रहेको बैठकलाई जानकारी गराए ।

संविधानसभाको अर्को बैठक आगामी असोज ३ गते अपराह्न ५ बजे बस्ने छ । रासस