काठमाडौं, २० साउन । सर्लाही गोलीकाण्ड छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आफ्नो अडानबाट पछाडी हटेपछि प्रतिनिधिसभाको अवरोध हटेको छ ।

सोमबार विहान पटक पटक बसेको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्तय गरी संसदलाई प्रभावकारी बनाउने सहमति भएको हो । फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस भन्नका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति बनेको सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

समितिमा रहने सांसदहरुको नाम सभामुखले संसद बैठकमा पढेर सुनाउनेछन् । विहान ११ बजेका लागि बोलाइएको संसद बैठक दलहरुबीचको छलफल चलिरहेकाले दिउँसो १ बजेका लागि सारिएको थियो । यद्यपी बैठक पौने २ बजेदेखि सुरु भएको छ ।